मकवानपुर। बागमती प्रदेशमा निर्माण शुरु गरिएको ‘बागमती प्रदेश मुख्यमन्त्री सभाहल’ लामो समयदेखि अलपत्र परेको छ। सभाहलको काम १५ महिनामा १५ प्रतिशत मात्र पूरा भएको हो।
निर्माण कम्पनी सम्पर्कमा नआउँदा सभाहलको काम अलपत्र परेको हो। वैशाख १९ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनी संरक्षण सेभ जेभीले २०७७ कात्तिक १७ गते ठेक्का सम्झौता गरेको सभाहलको काम हालसम्म १५ प्रतिशत मात्र पूरा भएको हो।
बागमती प्रदेश सरकारले ५ करोड २६ लाख रुपैयाँको लागतमा सभाहल निर्माण गर्न ठेक्का दिएको थियो। कुल लागतको २० प्रतिशत भुक्तानी लिएको निर्माण कम्पनीले भने निर्माण सम्पन्न गर्न ३ महिना बाँकी रहँदा काममा भने चासो देखाएको छैन।
शहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख राजेश पौडेलले पटकपटक निर्माण कम्पनीलाई सम्पर्क गरेर काम शुरु गर्न सचेत गराउने प्रयास गरेको बताए। तर, तीन पटकसम्म ठेकेदार कम्पनी संरक्षण सेभ जेभीलाई सम्पर्कमा आउन आग्रह गर्दा पनि ठेकदार सम्पर्कमा नआएको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ।