पोखरा। ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को भवन निर्माण गर्न शुरु गरिएको छ। दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै भवन निर्माण गर्न लागिएको हो।
भवनको शनिबार सांसद खगराज अधिकारी शिलान्यास गरेका छन्। महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को साझेदारीमा अहिले पोखरा–२९ को जनप्रकाश माध्यमिक विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकामा सोही वडाको खल्याणमा भवन निर्माणका लागि शिलान्यास गरिएको छ।
रु ११ करोड ४२ लाख लागतमा निर्माण हुने भवन आगामी विसं २०८० फागुन २९ गतेसम्म सम्पन्न गर्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता भएको छ। सङ्घ सरकारको विशेष अनुदान र महानगरपालिकाको लगानीमा भवन बन्न लागेको हो ।
गत वर्षदेखि शिक्षालयले ‘डिप्लोमा इन अटोमोबाइल इञ्जीनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इञ्जीनियरिङ’को तीनवर्षे कोर्षको पढाइ सञ्चालन गरेको हो । सिभिल इञ्जीनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरूमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पस नगन्य छन् । इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्षअघि अटोमोबाइल विषय अध्यापन गरिए पनि हाल सोको पठनपाठन हुँदैन ।
विशेषगरी विपन्न, दलित, उत्पीडित समाजमा पछि परेका वर्गको क्षमता विकास, सीप तालिमको माध्यमद्वारा सशक्तीकरण गर्दै रोजगारमूलक स्वरोजगार र उद्यमशीलताको विकास गर्न शिक्षालयले भूमिका खेल्ने शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । उनले आफ्नै भवन निर्माणपछि अध्ययन–अध्यापनसहित प्रशासनिक काम सहज हुने विश्वास व्यक्त गरे।