भक्तपुर। सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै निर्माण गरिएको २५ शय्याको अस्पताल प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो।
अस्पतालका लागि पाँचवटा भवनलगायत आवश्यक पूर्वाधार निर्माण गरी अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । अरनिको राजमार्गसँगै जोडिएको नगरपालिकाको वडा नं ८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी जमिनमा पुराना भवन मर्मत तथा नयाँ भवन निर्माण गरेर अस्पताल बनाइएको छ।
अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रेलगायत आवश्यक सबै सेवा दिने गरी व्यवस्थापन गरिएको छ।
नगरपालिकाले दधिकोटस्थित नगर अस्पतालमा रहेका चिकित्सकसहितको टोली, विभिन्न वडामा रहेका स्वास्थ्य चौकीका अतिरिक्त स्वास्थ्यकर्मी, नेपाल सरकारले पठाएका चिकित्सकको टोलीबाट अस्पतालको सेवा सुरु गरिएको जानकारी दिँदै वडाध्यक्ष थापाले अहोरात्र आफूहरु खटिएर अस्पताल सञ्चालनमा ल्याउन सफल भएको बताए।