म्याग्दी। जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सञ्चालित जनप्रिय माध्यमिक विद्यालयको भवन निर्माण तीव्र रुपमा अगाडि बढेको छ। मालिका–६, दरबाङस्थित छ्याछ्यारेमा निर्माणाधीन विद्यालयको ३० प्रतिशत काम पूरा भएको हो।
बेलायती संस्था ब्रिटिस गोर्खा वेलफेयरको २ करोड ८५ लाख रुपैयाँको आर्थिक सहयोगमा ट्रससहित १६ कोठे विद्यालय भवनको निर्माण कार्य भइरहेको छ । यसमध्ये विद्यालयले १० प्रतिशत रकम बेहोर्ने भएको छ भने मालिका गाउँपालिकाले विद्यालयको घेराबार निर्माण गर्नका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
विद्यालय भवन निर्माणका लागि दैनिक २५ जना स्थानीय मजदुरले रोजगारी पाएका छन्। विद्यालय भवनको निर्माणकार्यमा संलग्न सबै मालिका गाउँपालिका भित्रका स्थानीय नै हुन् ।
विद्यालय भवन सन् २०२२ को जुन महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
तीन वर्षको लामो अथक प्रयासपछि बेलायती सेनाबाट रिटायर्ड मालिका गाउँपालिकाको रुन्माका क्याप्टेन जीतबहादुर घर्तीको सिफारिसमा ब्रिटिस गोर्खा वेलफेयरको सहयोगमा विद्यालय भवन निर्माण थालिएको हो।
विद्यार्थीको बढ्दो चाप, कक्षाकोठा थोरै, खेलमैदानको अभाव, व्यवस्थापन तथा अनुगमनलगायत सबै हिसाबले समस्या भएपछि क्याम्पसको पूर्वाधार खडा गर्नका लागि पनि विद्यालय भवन बनाउन लागिएको हो ।