जाजरकोट। भौतिक पूर्वाधार कार्यालय जाजरकोटले आर्थिक वर्ष २०७८/७९ मा २९ वटा आन्तरिक सडक निर्माण पूरा गर्ने लक्ष्य राखेको छ। सडक निर्माणलाई कार्यालयले प्राथमिकता दिएको कार्यालयले २९ सडक निर्माण यसै आर्थिक वर्षमा पूरा गर्ने लक्ष्य राखेको हो।
कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा १ सय ६५ किलोमिटर सडक निर्माण गरेको थियो। साथै, कार्यालयले तीन वटा भोलुङ्गे पुल, दुई वटा पक्की पुल निर्माण सम्पन्न गरेको जनाएको छ। जनता आवास कार्यक्रमअन्तरर्गत एक सय ७३ विपन्न परिवारलाई घर निर्माण पनि गरेको कार्यालयका प्रमुख प्रविण कार्कीले जानकारी दिए।
२०७६/७७ मा चालुतर्फ ६६ प्रतिशत र पुँजीगततर्फ २१ प्रतिशत प्रगति विवरण रहेको कार्यालयको आर्थिक वर्ष २०७७/७८ मा चालुतर्फ ७९ प्रतिशत र पुँजीगत ७१ प्रतिशत प्रगति भएको थियो। यो आर्थिक वर्षको दोस्रो चौमासिकको आखिरीसम्ममा चालुतर्फ ४५ प्रतिशत र पुँजीगततर्फ ९ प्रतिशत प्रगती हासिल भएको छ।
कार्यालयले केही योजना प्रदेशमा फिर्ता समेत गरेको छ। १५ लाखभन्दा तलका योजना कार्यान्वन नगर्न मुख्यमन्त्री कार्यालयले पत्राचार गरेपछि सोहीअनुसार योजना काम रोकिएको हो।
केही वहुवर्षीय योजनामा समेत निरन्तर काम भइरहेको कार्यालयले जनाएको छ । यसमध्ये आधा दर्जन पक्की पुल पनि छन् । अघिल्लो वर्षभन्दा अहिले योजना निर्माणको काम तीव्र रुपमा अगाडी बढेको कार्यालयका प्रमुख कार्कीले बताए । उनले कर्मचारी अभावले तोकिएको समयमा काम गर्न कठिन भएको बताए।