बागलुङ। बागलुङको धवलागिरि अस्पताल भवन निर्माण शुरु भएको ८ वर्षपछि पूरा हुने भएको छ। तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको अस्पताल भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो।
निर्माण कम्पनीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ भएको हो। पटक–पटक म्याद थप्दै गरे पनि ठेकेदार कम्पनीले निर्माणमा ढिलाइ गर्दै आएको थियो। अस्पतालको ‘सी’ ब्लकको रङरोगन, झ्यालढोका जडान, विद्युत् जडानलगायत काम भइरहेको छ। चैतभित्र भवन हस्तान्तरण गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए।
विसं २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी सुरु भएको ४० कोठे भवन तीन पटकसम्म म्याद थप भइसकेको छ। अस्पतालको जग्गा, विद्युत् पोल र कोरोनाको कारण देखाएर निर्माण व्यवसायीले पाँच वर्ष ढिला सम्पन्न गर्न लागेको हो।
विसं २०६४ मा अस्पतालको ‘ए’ ब्लक तथा २०६६ मा ‘बी’ ब्लक निर्माण गरिएको थियो। ‘सी’ ब्लकको काम सम्पन्न हुने चरणमा छ। सहरी विकास तथा भवन डिभिजन कार्यालयले २०६४ सालमा भवन निर्माण गर्न ‘ए’, ‘बी’ र ‘सी’ खण्डमा विभाजन गरी छुट्टाछुट्टै मितिमा ठेक्का सम्झौता गरेको थियो।
‘ए’ ब्लक सम्झौताअनुसार तथा ‘बी’ ब्लक सम्झौताको १० वर्षमा सम्पन्न भएको थियो। भवन निर्माणको जिम्मा पाएको आशिष–मिलिनियम र भीम ज्योति जेभीका प्रतिनिधि रञ्जित बुढाले ‘सी’ ब्लकको जगमा कडा चट्टान रहेका कारण निर्माणमा ढिलाइ भएको बताए। ‘सी’ ब्लकको लागत रु १० करोड ६ लाख रहेको छ।