काठमाडौं। अस्ट्रेलियास्थित नेपाली दूतावासको भवन निर्माण सुरु हुन सकेको छैन। जग्गा खरिद गरेको ४ वर्ष बितिसक्दा पनी सो भवन निर्माण सुरु हुन नसकेको हो।
दूतावासले डिजाइन र नक्सा पास भइसकेकाले केही महिनाभित्रैमा निर्माण सुरु गरिने बताइएको छ। अस्ट्रेलियाको राजधानी क्यानबेरामा तत्कालीन राजदूत लक्की शेर्पाको पालामा जग्गा खरिद गरिएको थियो। ६ हजार १ सय ९८ वर्गमिटर क्षेत्रफलको उक्त जग्गा खरिद सम्झौता तत्कालीन राजदूत शेर्पा र अस्ट्रेलिया सरकारको चिफ अफ प्रोटोकल लिन्डा सरचल्कोको उपस्थितिमा दुवै देशका अधिकारीबीच सम्पन्न भएको थियो।
सन् २०१८ को मार्चमा खरिद गरिएको उक्त जग्गा १२ लाख अस्ट्रेलियन डलर करिब १० करोड नेपाली रुपैयाँमा लिइएको हो। अस्ट्रेलियामा कूटनीतिक निकायलाई दिइने क्षेत्रमा लिइएको उक्त जग्गामा स्थानीय नियम अनुसार जग्गा खरिद गरेको १८ महिनाभित्रमा निर्माण सुरु गरेर ३६ महिनाभित्रमा पूरा गर्नुपर्ने हुन्छ। तर नेपालले भने जग्गा खरिद गरेको ४६ महिना बितिसक्दा समेत निर्माण नै सुरु गरेको छैन।
निर्माण प्रक्रिया सुुरु हुन नसकेपछि दूतावासले यहाँस्थित सरकारी निकाय नेसनल क्यापिटल अथोरिटीसँग हरेक वर्ष भवन निर्माणका लागि म्याद थप गराउँदै आएको छ। गतवर्ष थप गरिएको म्याद यही मे महिनामा सकिन लागेकाले दूतावासले पुनः उक्त निकायसँग समय थपका लागि आग्रह गर्ने भएको छ।
अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत दु्रपदा सापकोटाले सरकारी तबरबाट हुनुपर्ने धेरै प्रावधान पूरा हुनुपर्ने भएकाले केही समय ढिला भएको बताइएको छ। अहिले प्रारम्भिक चरणका सबै प्रक्रिया पूरा भइसकेको र भवन निर्माणका लागि निर्माणकर्ता छनोटका लागि बोलपत्र आह्वानको काम भइरहेको छ।
दूतावासको भवन निर्माण प्रक्रियाका बारेमा बुझ्न हालै परराष्ट्र मन्त्रलायका सहसचिवको नेतृत्वमा सहरी विकास तथा भवन निर्माण विभागका अधिकारी अस्ट्रेलिया आएर फर्किएका छन्। दूतावासस्रोतका अनुसार विभागलाई भवन निर्माणका लागि दूतावासले करिब १२ मिलियन डलर खर्च लाग्ने अनुमानित विवरण दिएको छ।
सरकारीस्तरमा खरिद गरिएको उक्त जग्गामा नमुना दूतावास निर्माण गर्नेगरी कार्य भइरहेको दूतावासको भनाइ रहेको छ। खरिद गरिएको जग्गामा ३५ प्रतिशत क्षेत्रफलमा मात्र भवन निर्माण गर्न पाइने नियम अनुसार नै ४ वटा भवन निर्माण हुनेछ जसमा राजदूतको निवास, कर्मचारी आवास गृह, पाहुनाघरका साथै अन्य आवश्यक पूर्वाधारहरु निर्माण हुनेछन्।