रुपन्देही। रुपन्देहीमा रहेको नेपाल विद्युत प्राधिकरण अमुवा वितरण केन्द्रबाट हुने विद्युत आपूर्ति शुक्रबार र शनिबार २ दिनका लागि बन्द हुने भएको छ। अमुवा केन्द्रमा विद्युत लगिने ३३ केभी प्रसारण लाइन २ दिन बन्द हुने भएको हो ।
प्राधिकरण प्रसारण निर्देशाालयको ग्रिड सञ्चालन विभाग अन्तर्गतको निर्माणाधीन १३२ केभी बुटवल–लुम्बिनी प्रसारण लाइनको तार तान्न ३३ केभी लाइनको आपूर्ति बन्द हुने भएको हो ।
यो प्रसारण लाइनको बुटवलदेखि मैनैहियासम्म आइपुग्ने खण्डमा तार तान्नु पर्ने भएकाले अमुवातर्फ जाने ३३ केभी भरौलिया फिडरलाइनबाट हुने आपूर्ति बन्द गर्नु परेको वितरण केन्द्रले जनाएको छ । ११ केभी टिकुलीगढ र ८.५ मेगावाटको बुटवल सौर्य विद्युत आयोजनाको विद्युत प्रवाह हुने ३३ केभी प्रसारण लाइन पनि बन्द हुने भएको छ ।
शुक्रबार दिउँसो १२ बजेदेखि अपरान्ह ४ बजेसम्म ४ घन्टा आपूर्ति बन्द हुनेछ । शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि आपूर्ति बन्द गरिने बताइएको छ।
आपूर्ति बन्द गरेर बुटवलदेखि मैनैहियासम्म पर्ने टावर नम्बर २८ देखि ३४ सम्म १३२ केभी प्रसारण लाइनको तार तानिने भएको छ ।