खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीको भवन क्षतिग्रस्त बनेको छ। अस्पताल निर्माणका लागि घडेरी सम्याउने क्रममा स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो।
नजिकै अस्पतालका लागि घडेरी बनाउने क्रममा जग भत्किएर स्वास्थ्य केन्द्रको तीनकोठे भवन काम नलाग्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । भर्ना भएका बिरामी राख्नका लागि बनाइएको भवनको टेवा पर्खाल र पेटी भत्किएपछि भवन मुनि भ्वाङ परेको छ।
स्वास्थ्य केन्द्रको भवनको तीनमध्ये दुईवटा कोठा भासिएको छ । सो भवनलाई हाल पुरानो सामान, कोभिड–१९ बाट संक्रमित स्वास्थ्यकर्मी राख्ने क्वारेन्टिन लगायतमा उपयोग गरिँदै आइएको थियो ।
१५ मंसिर २०७७ मा शिलान्यास गरिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा जग्गादाता प्रेमबहादुर बस्नेतकै घर पनि जोखिममा परेको छ । १८ करोड ६ लाख ८२ हजारमा दुई वर्षभित्र निर्माण गरिसक्नु पर्ने अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ । तर, जेभीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको छ । निर्माणाधीन अस्पातलको मेसिनरी वालमा समेत गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयले आरोप लगाएका छन्।