काठमाडौं। पाँचथर जिल्ला अदालतको निर्माणाधीन भवन अलपत्र भएको छ। म्याद सकिएको तीन वर्ष बित्न लाग्दा पनि सो निर्माणाधिन भवन पुरा नभएको हो।
निर्माण व्यवसायी अधकल्चो छोडेर बेपत्ता भएसँगै भवन अलपत्र भएको हो। निर्माण ठप्प पारेर सम्पर्कविहीन भएपछि हाजिर हुन अदालतले सूचना जारी गरेपछि आएका निर्माण व्यवसायीले एकाध मजदुर काममा लगाए पनि तीनतले भवन कहिले बनाइसक्लान् भन्ने जवाफ कम्पनीका प्रतिनिधिसँग छैन।
उक्त भवन निर्माणको जिम्मा सिभाको बस्नेत जेभी काठमाडौंले लिएको थियो। प्रतिनिधिले काम छोडेर लामो समय सम्पर्क बाहिर रहेकाले अलपत्र बनेको बताइएको छ। सिभाको बस्नेत जेभीका इन्जिनियर भने आफ्नो कारणले नभएर सरकारी पक्षकै कमजोरीले भवन निर्माण समयमा गर्न नसकेको दाबी गर्छन्।