काठमाडौं। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका विभिन्न तीन वटा वडा कार्यालय भवन निर्माण गरिएको छ। जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा दुई करोड नौ लाख ५४ हजारको लागतमा वडा नं ३, ४ र ५ को कार्यालय भवन निर्माण गरिएको हो।
वडा नं ३ को पाहुँदुरमा ६९ लाख ८८ हजार ७४९, वडा नं ४ को बाँसखर्कमा ६९ लाख ३० हजार ५११ र वडा नं ५ को झोवाङमा ७० लाख ३५ हजार ५६६ को लागतमा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो। दुईतले सुविधा सम्पन्न ती पक्की भवन निर्माणका लागि साझेदारी कार्यक्रमअनुसार कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति र ४० प्रतिशत गाउँपालिकाले व्यहोरेको थियो।
जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा गएको एक टोलीले नवनिर्मित भौतिक पूर्वाधार एवं सेवा प्रवाहका बारेमा जानकारी लिएको थियो। उनले जनतालाई छिटोछरितो एवं प्रविधियुक्त सेवा प्रदान गर्न भौतिक पूर्वाधारले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
टोलीले वडा नं ५ को झोवाङस्थित पर्यटकीयस्थल शीतल गुफामा निर्माण भइरहेको संरचना पनि अवलोकन गरेको थियो। उक्त गुफा परिसरमा २५ लाख ५१ हजार ८९० को लागतमा १०८ गौमुखे धारा निर्माण गरिएको छ। सो कार्यका लागि जिल्ला समन्वय समितिले १७ लाख ८६ हजार ३२३ र बाँकी गाउँपालिकाले व्यहोरेको थियो।