रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अतिथि गृह तथा सभाहल निर्माण गरिएको छ। २ करोड २२ लाखको लागतमा नगरपालिकाले अतिथि गृह तथा १ करोड ५७ लाखको लागतमा सभाहल निर्माण गरेको हो ।
अतिथि गृह र सभाहलको पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरेका छन्। उद्घाटनका क्रममा पूर्वमन्त्री विश्वकर्माले तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक लगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताए।
नगरपालिकाले वडा नं ९ स्थित केवलानीमा १६ कोठाको अतिथि गृह र एक हजार २०० जना अट्ने क्षमताको सभाहल निर्माण गरेको छ । सभाहलमा हाल कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० शय्याको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो ।
महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्य अनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।