काठमाडौं। अन्नपूर्ण देवी (असं भलु अजिमा) को देवघर पुनःनिर्माणको काम सुरु भएको छ। उक्त देवघरको पुनःनिर्माण गर्न कामपाले यस अघिनै प्रयास गरे पनि गुठीयारबीच भएको मतभेदका कारण काम अघि बढ्न नसकेको हो।
कामपाको वडा २७ भोटाहिटीमा रहेको देव घर निर्माणका लागि कामपाको प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार शिलान्यास गरेका छन्। यस देव घरमा असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको जात्रामा निकालिने मूर्ति, त्यससँग सम्बन्धित बाजागाजा र सामग्री राख्ने गरिन्छ। यस्तै बाजा प्रशिक्षण, सम्बन्धित गुठीयारको बैठकलगायत काममा घरको प्रयोग हुने गरेको छ।
कार्यक्रममा कामपाका प्रमुख शाक्यले सांस्कृतिक सम्पदाको मर्मत सम्भार र पुनस्निर्माणका लागि गुठीयारको स्रोतले नपुग्ने देखेपछि राज्यतर्फबाट कामपाले सहयोग गरेको उल्लेख गरे। तहगत सरकारका जिम्मेवारीमध्ये संस्कृति, सम्पदा, भाषा, कला, साहित्य बचाउने जिम्मा स्थानीय सरकारको रहेको भन्दै प्रमुख शाक्यले सोहीअनुसार आफूले सम्पदा क्षेत्रमा लगानी गरेको बताए।
दुई आना दुई दाम जग्गामा निर्माण हुने उक्त भवन चार तलाको हुनेछ। पुननिर्माणका लागि महानगरले करिब रु ७६ लाख उपलब्ध गराउने छ।