काठमाडौं। दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको छ। ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको आयोजनाका लागि २४२१ कित्ता जग्गा प्राप्तिको प्रकृया शुरु भएको हो।
चिसंखुगढी गाउँपालिकाका पाँच वडाका २४२१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुखबिरुवासमेत स्थायी रुपमा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सूचना जारी गरेको छ ।
वडानम्बर १ का ११४९, वडानम्बर २ का २५३ घरपरिवार, वडानम्बर ३ को ६००, वडानम्बर ६ को ३७१ र वडानम्बर ७का ४८ घरपरिवारको नाममा रहेको जग्गा अधिग्रहण हुने भएको छ ।
सूचनामा उल्लिखित जग्गाको कारोबार आजैदेखि रोक्का भएको छ । र, यी जग्गामा कुनै नयाँ संरचना बनाउन पाइने छैन ।यदि आफ्नो जग्गा प्राप्त गर्न नपर्ने भए १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ ।