काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी दिएको छ। सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैंले बढाउने चेतावनी दिएका हुन्।
महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको गुनासो गरेका छन्।
उनले महासंघको बैंठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैंले भाडा बढाउने निर्णय गरि सकेको जानकारी दिए।
यातायात व्यवसायीहरुले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाई छ । उनले २५ गते भित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारीसाधन चल्न नसक्ने बताए । सिटौंलाले सरकारले यातायात व्यवसायीहरुको मागको सुनुवाइ समेत नगरी नतमस्तक भएर बसेको तर्क गरे ।