काठमाडौंं। नुवाकोटको तादी खोलामा रहेको ५ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। निर्माण सम्पन्न जलविद्युत आयोजनाको विद्युत शुक्रबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो।
आयोजना निर्माण सम्पन्न गरी सबै चरणको आन्तरिक परीक्षण पूरा गरी विद्युत प्रणालीमा जोडिएको प्रवद्र्धक बुद्धभूमी नेपाल हाइड्रो पावर कम्पनीले जनाएको छ। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएर आयोजनाको विद्युत प्रणालीमा जोडिएको बताइएको छ।
आयोजनाको विद्युत २ किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार सबस्टेसनमा जोडिएको छ। करिब २ साताको परीक्षण उत्पादनपछि आयोजनाबाट व्यापारिक विद्युत उत्पादन हुने कम्पनीले बताएको छ।
उक्त आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि उत्पादन ढिला हुँदा लागत बढेको कम्पनीले जनाएको छ।