काठमाडौं। संखुवासभामा निर्माणाधीन अरुण–३ जलविद्युत् आयोजनाबाट नेपालले पाउने बिजुली भारतमा बेच्न प्रस्ताव गरिएको छ । ९ सय मेगावाट उत्पादन क्षमताको यो आयोजनाबाट उत्पादन हुने विद्युत भारतमा बेच्न प्रस्ताव गरिएको हो।
यो आयोजना भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले बनाइरहेको छ। लगानी बोर्डको कार्यालयले सतलजसँग गरेको परियोजना विकास सम्झौता (पीडीए) अनुसार अरुण–३ बाट उत्पादन सुरु भएपछि नेपालले २१.९ प्रतिशत बिजुली निःशुल्क पाउनेछ । बाँकी बिजुली सतलजले लैजानेछ ।
पछिल्लो समय नेपालभित्र उत्पादन हुने बिजुली खपत हुन नसकेर खेर जाने अवस्था छ, जसकारण अरुण–३ बाट नेपालले पाउने हिस्सा पनि भारतमा बेच्न छलफल थालिएको हो । पीडीएअनुसार नेपालले पाउने करिब १९७ मेगावाट बिजुली
भारतमा बेच्न प्रारम्भिक चरणका छलफल सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
अरुण–३ जलविद्युत् आयोजनाबाट सन् २०२३ भित्रमा बिजुली उत्पादन सुरु गरिसक्ने लक्ष्य छ । उक्त समयभित्र आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आए सन् २०४८ मा सतलजले परियोजना नेपाललाई हस्तान्तरण गर्नेछ । परियोजना करार अवधि २५ वर्षको रहेकामा उक्त अवधिका लागि नेपालले बर्सेनि पाउने बिजुली भारतीय बजारमा पठाउन लागिएको हो ।