काठमाडौं। नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ। नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको हो।
उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको छ। सो अध्ययनले नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्भव रहेको बताइएको छ। अब वातावरणीय प्रभाव मूल्यांकन र आयोजना विस्तृत प्रतिवेदन (डीपीआर) बनाउने काम अगाडि बढ्ने बताइएको छ। वातावरणीय प्रभाव मूल्यांकनको काम चैतको पहिलो सातादेखि शुरू हुन्छ।
वातावरणीय प्रभाव मूल्यांकनको काम ७ महीनाभित्र सकिने छ। डीपीआरका लागि भने यही महीना (मार्च) मा चीन र नेपालबीच आवश्यक सम्झौता हुने जनाइएको छ।
नेपाल खण्डको प्रसारण लाइन ४०० केभीको डलर सर्किटको हुनेछ, त्यसमा २०७ ओटा टावर हुनेछन्, जुन बनाउन १० अर्ब रुपैयाँ लाग्ने देखिएको छ। प्रसारण लाइनको लम्बाइ भने ७० किलोमीटर हुने बताइएको छ।