रत्ननगर। सबभन्दा पुरानो मानिएको बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी सङ्ग्रहालय अलपत्र बनेको छ। बजेट अभावका कारण सङ्ग्रहालय अलपत्र बनेको हो।
चितवनको भरतपुर–१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको सङ्ग्रहालय बजेट अभाव भएपछि अलपत्र परेको बताइएको छ। विसं २०७४ को प्रतिनिधिसभा निर्वाचन अघि नेपाल सरकारबाट रु पाँच करोड निकासा भएर स्थापना गर्न लागिएको सङ्ग्रहालयको काम अधुरै छ।
रु पाँच करोडमा सङ्ग्रहालयको ठूलो बैठक कक्ष, साना बैठक कक्ष, विशिष्ठ व्यक्तिका लागि बस्ने कोठा, कार्यालय कक्ष र अन्य केही कोठा निर्माण गरिए पनि थप बजेट निकासा नहुँदा सङ्ग्रहालय निर्माणले मूर्तरुप लिन नसकेको बताइएको छ। सुरुमा सरकारले प्रदान गरेको बजेटबाट करिब आधा काम सम्पन्न भएपनि थप बजेट नआउँदा सङ्ग्रहालय निर्माणको काम अलपत्र परेको बताइएको छ।
सङ्ग्रहालय निर्माणका लागि थप रु पाँच करोड लाग्ने भएको छ। उक्त सङ्ग्रहालयमा फर्निचर, बिजुली बत्ती, भवनको प्लास्टरसँगै रङरोगनलगायत पर्खाल निर्माणको काम बाँकी रहेको छ। देशका ७७ वटै जिल्लाको चिनारी झल्किनेगरी राष्ट्रिय सहकारी सङ्ग्रहालय निर्माणको काम अगाडि बढाइएको हो।