काठमाडौं। सोलुखुम्बुमा निर्माणाधीन १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका असारमा सरेको छ। आयोजनाको निर्माण पूरा भइनसकेकाले विद्युत उत्पादन तालिका ४ महिना धकेलिन पुगेको हो।
विद्युतगृहमा उपकरण जडानको काम भइरहेकाले विद्युत उत्पादन सुरु हुन अझै केही समय लाग्ने आयोजनाले जनाएको छ। अन्तिम चरणको काम बाँकी रहेकाले विद्युत उत्पादन गर्ने तालिका असारसम्म पुग्ने देखिएको बताइएको छ।
सुरुवाती तालिकाअनुसार भने २०७६ पुसदेखि विद्युत उत्पादन गर्ने तालिका थियो। यसबिचमा कोरोना (कोभिड–१९) महामारी तथा प्रसारण लाइन पूरा हुन बाँकी रहेकाले तालिका सर्दै आएको थियो। विद्युत प्रवाह हुने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन पनि निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ।
अब विद्युत उत्पादनको तालिका असारभन्दा पछि नसर्ने प्रवर्द्धक बेनी हाइड्रो पावर कम्पनीको दाबी छ। १२ किलोमिटर लामो प्रसारण लाइनमा ४१ वटा टावर छन्। यो आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ।