काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा.कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ।
प्राधिकरणकै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट निवेदक हुन् । भदौ १ गते उनले वारेसमार्फत घिसिङविरुद्ध अदालतमा रिट दायर गरेका थिए ।
रिटमार्फत शाक्यले २४ साउनमा घिसिङलाई कार्यकारी निर्देशक बनाउन सरकारले गरेको निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका छन्।
शाक्यको पदावधि नसकी हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको जिकिर गरेका छन् । उनी २७ माघ २०७७ मा कार्यकारी निर्देशक नियुक्त भएका थिए । चार वर्षे अवधि भए पनि उनलाई ६ महिनामै उक्त पदबाट हटाइएको थियो। त्यसपछि उनी सर्वोच्च पुगेका हुन्।
तर, उनको मागअनुसार ५ असोजमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णय बदर नगरि कारण देखाउ आदेश मात्रै जारी गरेका थिए ।