काठमाडौं। कालीकोटमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभिए राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ। यसअघि दैलेखेको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभिए विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान गरिएकोमा त्यसलाई थप गरेर ३३ केभिए प्रसारण लाइन जडान गरिएको हो।
विगतमा कालीकोटमा ११ केभिए प्रसारण लाइनमा विद्युत्को भोल्टेज घटबढ हुने समस्या र नागरिकको माग अनुसार विद्युत् आपूर्ति गर्नका लागि ३३ केभिए प्रसारण लाइन जडान गरिएको बताइएको छ। उक्त कार्यसँगै कालीकोटको सदरमुकाम मान्मबाट जिल्लाका सबै पालिकाको केन्द्रसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम अगाडि बढ्ने बताइएको छ।
जिल्लाको नौ पालिकामध्ये ३ मा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान भएको छ। अब सबै पालिकामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुनेछ। कर्णालीका दशमध्ये अझैँ तीन जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान हुन सकेको छैन।
दुई वर्षमा कर्णालीका सबै जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान गर्ने र त्यसका लागि विद्युत प्राधिकरणले रु २५ अर्बको बजेट विनियोजन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।