बारा। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जितपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीमा दुई महिनाभित्र विद्युत उपलब्ध गराउने बताएकी छन्। नवलपुरको सबस्टेसन उद्घाटका लागि सर्लाही जाँदा टाङ्गिया बस्ती पुगेकी मन्त्री भुसालले यस्तो बताएकी हुन्।
आफूले मन्त्रालय सम्हालेलगतै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको भन्दै उनले जनताका माग सम्बोधन गर्न निर्णय गरेर कार्यान्वनको चरणमा पुर्याइएको जानकारी दिइन् ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि त्यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने कारण देखाउँदै टाङ्गिया बस्तीमा विद्युतीकरण हुनसकेको थिएन । विमानस्थल बन्ने अवस्थामा यहाँका बासिन्दासँगै विद्युतीकरणका संरचना सार्ने गरी विद्युतीकरण गर्न लागिएको हो ।
वर्षौंदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता रहेका यहाँका जनताले बिजुलीको उज्यालोमा बस्न पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाइ छ ।
उनले यहाँका जनताका घरमा चाँडै बिजुलीको उज्याले पुग्ने प्रतिबद्धता व्यक्त गर्दै बिजुलीको उज्यालोमा बस्न पाउनु जनताको मौलिक अधिकार भएको बताइन् ।
टाङ्गिया बस्तीमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणले टेन्डर गरिसकेको उनले जानकारी दिएकी छन्।