काठमाडौं। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ। ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र निर्माण हुन लागेको हो।
अत्याधुनिक उपकरणसहितको जिल्लाकै नमूना बर्थिङ सेन्टर बनाउने योजनासहित नगरपालिकासँग सम्झौता गरिएको बताइएको छ। बर्थिङ सेन्टरका बनाउन बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र वानहर्ट वल्डवाईड नामक संस्थाका प्रतिनिधि उपेन्द्र चन्दबीच सम्झौता भएको छ।
भवन अभावमा स्वास्थ्य केन्द्रको सानो कोठामा सुत्केरी सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्यचौकीका अन्य सेवा प्रभावित भइरहेका अवस्थामा नयाँ भवन बनेपछि सेवामा थप सहजता हुने जनाइएको छ। भकिम्लीमा प्रसूति लागि दक्ष जनशक्ति भएकाले भवन बनेपछि सहज हुने स्वास्थ्यचौकीले जनाएको छ।