काठमाडौं। रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइने भएको छ। उक्त आयोजना सांग्रिला हाइड्रोपावरले निर्माण गर्ने भएको हो।
यसका लागि विद्युत विकास विभागले बुधबार सूचना प्रकाशित गर्दै आयोजना निर्माण तथा संचालन गर्दा प्रतिकूल असर पर्ने भए सम्बद्ध सरोकारवालालाई ३५ दिनभित्र लिखित सुझाव दिन आग्रह गरेको छ।
उक्त आयोजना रुकुम पश्चिमको आठविसकोट नगरपालिका र लाहा गाउँपालिका–२, ३ मा निर्माण हुनेछ। जसको जडित क्षमता २१ मेगावाट हुनेछ। आयोजनाबाट वार्षिक सरदर १२७.२९५ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ।
उत्पादित ऊर्जालाई विद्युत गृहमा जडान हुने दुई ४.४ एमभीएको ट्रान्सफर्मरबाट १३२ केभी प्रसारणलाइन हुँदै करिब २० किलोमिटर दुरीमा विद्युत प्राधिकरणको बफ्रिकोट सवस्टेशनमा जोडिनेछ।