काठमाडौं। बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्य बत्ती बल्न छोडेका छन्। सौर्य बत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश बत्तीहरू बल्न छाडेका हुन्।
एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छाडेपछि सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन्। ६ महिनादेखि राम्ररी बलेको छैन। तर, बत्तीको मर्मतसम्भार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीय नागरिकहरुले बताउने गरेका छन्।
उपमहानगरपालिका भित्र दुई सय ५० ओटा सौर्य बत्ती जडान भएका छन्। बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या हुनका साथै सडक दुर्घटनासमेत हुने गरेको बताइएको छ। तर उपमहानगरपालिकाका जनप्रतिनिधिले भने खासै चासो नदेखाएको स्थानीयले बताए।
उप–महानगरपालिकाले सडक बत्ती मर्मत भइरहेको बताएको छ। उप–महानगरपालिका भित्र सडक बत्ती मर्मतका लागि २० लाख बजेट विनियोजन गरेको बताएको छ। उपमहानगरपालिकाको समन्वयमा संसद कोषबाट नेपालगञ्जमा सौर्य बत्ती जडान गरिएको थियो।