काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार उद्घाटन गरेकी हुन्।
उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत प्रयोग गर्न आग्रह गरिन ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सबस्टेसनले मोतीपुर क्षेत्रको विद्युत आपूर्तिमा सन्तुलन ल्याउने बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि पूर्वाधार बनेको उल्लेख गर्दै मोतीपुर क्षेत्रमा उद्योग स्थापनाका लागि औद्योगिक वातावरण बनाउन आग्रह गरे । उनले सबस्टेसनबाट विद्युत आपूर्ति सुरु भएपछि यस क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको र प्राविधिक चुहावटसमेत कम भएको जानकारी दिए।
पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ। सबस्टेसनमा रहेका ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ । यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ ।