मनाङ। जिल्लामा वर्षौंदेखि अलपत्र रहेको मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल र वडानम्बर ५ जोड्ने मुङ्जे खोलाको पुलको निर्माण तत्काल पूरा गर्न मनाङ प्रशासनले निर्देशन दिएको हो।
सरकारी रकम खर्चेर तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै जिम्मा लिने निर्माण व्यवसायी र सम्झौता गर्ने सरकारी निकायलाई तत्काल काम सुचारु गर्न निर्देशन दिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । स्थलगत अवलोकनको लागि उक्त क्षेत्र पुगेका प्रजिअसहितको टोलीलाई स्थानीयले लामो समयदेखि पुल अलपत्र भएको गुनासो गरेपछि तत्काल निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिएको प्रजिअ आचार्यको भनाई छ ।
निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको हो । करिब पाँच वर्षअघिबाट निर्माण सुरु भएको हुम्डे ङावल पुलको करिब ७० प्रतिशत काम सकिएपछि दुई वर्षअघि भत्किएको थियो । काठमाडौंस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले चार करोड ५१ हजार लागतमा निर्माण सुरु गरेको पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न नभएको स्थानीय छिरीङ गुरुङले बताए ।
पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले ०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो । ०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालय लमजुङले लिएको थियो । त्यसपछि मनाङमा नै पूर्वाधार कार्यालय स्थापना भएपछि लमजुङबाट पनि जिम्मेवारी सरेको थियो ।