म्याग्दी। धवलागिरि गाउँपालिका–२ मा रहेको लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो।
विद्यालयका प्रधानाध्यापकले दुईकोठे भवन भत्किएको र चारकोठे अर्को भवन जीर्ण बनेकाले पठनपाठनमा समस्या भएको बताए। ‘गत असोजमा कक्षा ६ र ७ को भवनको पर्खाल भत्किएको थियो,’ उनले भने, ‘कार्यालय र दुई कक्षाकोठा भएको अर्को भवनको पर्खाल पनि बाङ्गिएकाले जोखिम बढेपछि खुला चौरमा पठनपाठन गराउनुपरेको हो।’
भीरालो पाखो सम्याएर फरकफरक ठाउँमा बनाइएको विद्यालयको भवन र खेलमैदान संरक्षणका लागि निर्माण भएको ग्यावियन पर्खाल पनि भत्किएको छ। ‘चर्किएर बाङ्गिएको भवनको पर्खाल कुनबेला भत्किन्छ भन्ने डर छ। भवनको जोखिमयुक्त अवस्थाले शैक्षिक वातावरणमा असर पुगेको छ भने, वर्षातमा पठनपाठन बन्द गर्नुपर्ने भएको छ।
गत वर्ष तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सहयोगमा दुईकोठे ट्रस र खानेपानी तथा सरसफाइसहितको छात्रामैत्री शौचालय निर्माण गरिएको थियो। यसबाहेक अन्य चारमध्ये दुई भवन जीर्ण छन्। नयाँ भवन निर्माणका लागि गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइलगायत निकायमा प्रस्ताव गरिएको बताइएको छ।