रुकुम। रुकुम पश्चिमको मुसिकोट नगरपालिका ३ धैरेनी चौरमा ३३/११ केभीको मुसिकोट सबस्टेशनको निर्माण पूरा भएको छ। निर्माण शुरु भएको करिब ७ वर्षमा मुसिकोट सबस्टेशन सम्पन्न भएको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल र अर्थ मन्त्री जनार्दन शर्माले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेशनको संयुक्त रूपमा उद्घाटन गरेका छन्। सबस्टेशनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँमा विद्युत् आपूर्ति गरिनेछ।
उद्घाटन कार्यक्रममा मन्त्री भुसालले विगतमा बत्ती बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत् रहेकाले भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन्। उनले दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत पुर्याउने र विद्युत् सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताइन्।
अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरीद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे। शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए।
सबस्टेशन निर्माण २०७२ को असारबाट शुरू भएको थियो। तर, शुरूआतमा निर्माण प्रस्ताव गरिएको स्थान पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो। सबस्टेशन निर्माणका लागि वाइबा इन्फ्राटेक प्रालिसँग ८ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।