काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ। प्रसारण लाइन २४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएर निर्माण गर्ने भएको हो।
विद्युत विकास विभागले एक सुचना निकालेर प्रस्तावित ढल्केबर–बालगंगा प्रसारणलाइन निर्माण तथा संचालन गर्दा प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित राय, प्रतिक्रिया दिन अनुरोध गरेको छ।
उक्त विद्युत प्रसारणलाइन अन्तर्गत लगभग २६ वटा एंगल र ६५ वटा सस्पेन्सन गरि कुल ९१ वटा टावरहरु रहने बताइएको छ। एक टावरदेखि अर्को टावरसम्मको दुरी न्युनतम १६५ मिटर र अधिकतम ३५० मिटर हुनेछ। टावरको न्युनतम उचाइ २७ मिटर र अधिकतम ३८ मिटर हुने जनाएको छ।
विभागका अनुसार १३२/३३ केभी बालगंगा सवस्टेशनसम्मको २३० मेगावाट क्षमताको १३२ केभी (डबल सर्किट) प्रसारणलाइन निर्माण हुनेछ। जसको दुरी करिव २३.९९ किलोमिटरको हुनेछ।
उक्त प्रसारणलाइनको राइट अफ वे, विद्युत नियमावली,२०५० मा तोकिए बमोजिम न्युनतम दुरीमा नघटाइ प्राविधिक दृष्टिकोणबाट १८ मिटर कायम गरिनेछ। केन्द्रीय रेखाबाट दायाँ र बायाँ ९/९ मिटर हुनेछ। प्रसारणलाइनको भोल्टेज १ लाख ३२ हजार भोल्ट तथा प्रसारण क्षमता २ लाख ३० हजार किलोवाट रहनेछ।