रसुवा। आमाछोदिङमो गाउँपालिका–५ मा निर्माणाधीन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाको काम स्थानीयले रोकिदिएका छन्। आयोजनाले क्षति पुर्याएको भन्दै स्थानीयले शुक्रबारदेखि आयोजनाको काम रोकिदिएका हुन्।
वातावरणीय प्रभाव मूल्यांकनको आधारमा वातावरण संरक्षण गर्नेगरी सालासुङगी वाटर प्रालि र गाउँपालिकाको ५ वडा कार्यालयबीच २० असामा सम्झौता भएको थियो। तर, सम्झौताविपरीत आयोजना स्थलमार्ग निर्माणका क्रममा वनजंगल विनास गरेको, १० वटा खर्कमा क्षति पुर्याएको भन्दै स्थानीयले आयोजनाको काम नै ठप्प पारेका छन्।
सडक निर्माणका कारण ठूला ढुंगाले पशु हिँड्ने बाटो नभएको र घाँस पाउने खर्क मासिँदा २७ चौँरी तथा भेडा पालक किसान समस्यामा परेको चौँरीपालक किसानले बताए।
माग सम्बोधन नभएपछि स्थानीयले काममा अवरोध गरेको सूचना प्राप्त भएको आमाछोदिङमो गाउँपालिकाले जनाएको छ।
निर्माणाधीन माथिल्लो साङजेन आयोजनाभन्दा ५ सय मिटरमाथि यो आयोजनाको विद्युतगृह निर्माण भइरहेको छ। नेपाली साझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिशत लगानी छ। आयोजना टनेल ४ किमी र पेनसटकसमेत ७ किमी रहेको छ भने तातोपानीदेखि ड्याम साइडसम्म पुग्न ३२ किमी सडक निर्माणलगायतका काम भइसकेको छ।