काठमाडौं। नर्वेले नेपालको नवीकरणीय ऊर्जा र जलविद्युत्को विकासमा सहकार्य गर्न चासो दिएको छ। नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग गरेको शिष्टाचार भेटमा नेपालको विकासमा सहकार्य गर्न इच्छुक भएको बताएका हुन्।
भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचार विमर्श भयो। सो अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको स्मरण गरिन्।
ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वेले गरेको सहयोगको सर्हाना गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको उल्लेख गरिन् ।
मन्त्री भुसालले आफूले मन्त्रालय सम्हालेपछि गुणस्तरीय ऊर्जा उपलब्ध गराउन निरन्तर लागि परेको तथा सबस्टेशन र प्रशारणलाइन निर्माणलाई विशेष जोड दिइएको बताइन् ।
त्यस अवसरमा राजदूत ड्रम्डालले नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको जनाउँदै नवीकरणीय ऊर्जा र जलविद्युत्को विकासमा सहकार्य गर्ने बताए । उनले जलविद्युत्को क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै नौ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको जानकारी गराए । राजदूत ड्रम्डालले प्रशारण लाइन निर्माणमा भएको ढिलाइबारे चासो व्यक्त गरेका थिए।