काठमाडौं। नेपाल विद्युत प्राधिकरणले प्रति युनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्ने भएको छ। भारतबाट आयात हुने विद्युतमा समस्या आएकाले बिहीबार राति १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिन थालेको हो।
नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबारदेखि विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुन अवस्था नभएको बताए ।
उनले पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्याधिक मात्रामा आकासिएकाले मंगलबारदेखि प्राधिकरणले विद्युत आयात नगरेकाले उद्योगमा विद्युत कटौती गर्नु परेको बताए ।
उनले प्राधिकरणले महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने भएको जानकारी दिए।
प्राधिकरणले प्रति युनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाइ छ । घिसिङले विश्वभर नै विद्युत अभावको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको हुँदा छोटो समय मात्रै नेपालमा प्रभाव देखिने बताए। भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा ४ सय मेगावाटसम्म बिजुली आयात गरेर उद्योगहरुमा विद्युत दिने तयारी प्राधिकरणले गरेको घिसिङले बताए ।
त्यस्तै, निर्देशक घिसिङले रुस र युक्रेन बीचको तनावको कारण विश्वभर विद्युत आयातमा समस्या बढ्दै गएको बताए । उनले नेपालमा ८ महिना विद्युत आयात गर्नु नपर्ने अवस्था रहेको बताए । तर, ४ देखि ५ महिनाको लागि करिव ४०० मेगावट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताए । अहिलेको यो अवधि विद्युत उत्पादन कम हुने र माग बढ्ने भएकाले पनि विद्युत व्यवस्थापनमा समस्या देखिएको घिसिङको भनाइ छ । भारतमा विद्युत अभावको समस्याको कारण प्राधिकरणले गरेको सम्झौता अनुसार विद्युत आयात नसकेकोले समस्या भएको घिसिङले जानकारी दिए।