पोखरा। निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत सकिएको छ। अझै ७ प्रतिशत काम बाँकी हुँदै हालसम्म बनिसकेका पूर्वाधार हस्तान्तरण गर्ने तयारी गरिएको हो।
विमानस्थल श्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला निर्माण पूरा भएका पूर्वाधार हस्तान्तरण गर्न लागिएको हो। रनवेदेखि ट्याक्सी वे, टर्मिनल भवन सहित अधिकांश संरचना निर्माण भैसकेको छ। गएको जुलाई १० मै काम सकेर हस्तान्तरण गर्ने भनिएको विमानस्थल कोरोना संक्रमणका कारण १ वर्ष पछि सरेको हो।
आयोजना प्रमुखले भने औपचारिक जानकारी नआएको बताए। ‘शनिबार कार्यक्रम गर्ने कुरा फाइनल हो। तर त्यसको मोडालिटी बारे औपचारिक जानकारी छैन,’ उनले भने, ‘पूर्वाधार हस्तान्तरणबारे केन्द्रमा छलफल भएको होला। यहाँ केही खबर छैन।’ बनिसकेका पूर्वाधार हस्तान्तरण गर्दा खासै असर नपर्ने उनले सुनाए। ‘आफ्नो देशको हाई प्रोफाइल आउँदा हस्तान्तरण गर्न खोजेको हुन सक्छ। त्यो राम्रै पनि हो,’ उनले भने, ‘आज केही खबर आउला।
पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले २०७३ सालमा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। तर आवश्यक तयारी नपुगेको भन्दै १ वर्षसम्म काम सुरु हुन पाएन। हाल चीनको सिएएमसीईले निर्माणको जिम्मा पाएको छ।