काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले माथिल्लो अरुण जलविद्युत परियोजना निर्माणमा लगानीका लागि कुनै पनि समस्या नभएको बताएका छन्। नेपाल विद्युत प्राधिकरणले परियोजनामा लगानी जुटाउने उद्देश्यले बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले परियोजना निर्माणमा लगानीका लागि कुनै पनि समस्या नभएको बताएका हुन् ।
उक्त परियोजना सरकारको परियोजना भएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे। उनले सरकार माथिल्लो अरुणमात्रै नभएर अरुणसँगै बूढीगण्डकी, मुगु कर्णालीलगायत अन्य जलाशययुक्त आयोजना तत्काल अगाडि बढाउने तयारीमा रहेको जानकारी दिए।
हामीलाई देश बनाउने प्रतिबद्धता चाहिएको छ भन्दै मन्त्री शर्माले लगानीको समस्या नभएको जानकारी दिए। अब कसैसँग ऋण लिँदा जुन परियोजनाका लागि ऋण लिएको हो त्यही आयोजनाले तिर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माको भनाइ छ।
परियोजनाका लागि लगानी कोषले मात्रै एक खर्ब लगानी गर्न तयार रहेको मन्त्री शर्माले जानकारी दिए। उनले सञ्चय कोष, धेरै बैंक, बिमा संस्थान, बिमा कम्पनीहरूले समेत पूर्वाधार विकासमा लगानी गर्ने बताए।