काठमाडौं। तराई मधेसको ‘लाइफ लाइन’ मानिएको हुलाकी सडक खण्डको सप्तरी सिरहा जोडने बलान नदीको पुल निर्माण सम्पन्न भएको छ। ४६९.२ मीटर लम्बाई १२ स्पान रहेको बलान पुल निर्माण शुरु भएको १० वर्षमा पूरा भएको हो।
पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले उद्घाटन गरेकी छन्। पुलको उद्घाटन गर्दै मन्त्री यादवले राज्यको विभेदकारी नीतिका कारण हुलाकी सडक वर्षौ पहिला बनिसक्नु पर्ने भएपनि अहिलेसम्म नबनेको जिकीर गरिन्। शासन सत्तामा रहेका वर्गले हुलाकी सडक बनाउनु पर्नेमा खास ध्यान नदिएको उनको आरोप छ।
बलान पुल २४ करोड ६२ लाख लागतमा निर्माण भएको छ।
२०७२ सालमा निर्माण सम्पन्न गरिसक्नु पर्ने गरि पुलको २०६८ सालमा सम्झौता भएको थियो। निर्माण कम्पनी शर्मा पप्पु जेभीले पुल निर्माण गरेको हो। यो पुल बनैसँगै बलान नदीका छेउछाउमा बसोबास गरिरहेका स्थानीयको मुहारमा खुसियाली छाएको छ।
यस्तै शुक्रबार सप्तरीको बोदे बर्साईन नगरपालिकामा पर्ने थप दुई पुल खडक नदी पुल र बेतहा पुल पनि उद्घाटन गरिएको छ ।