म्याग्दी। मिस्ट्रीखोला–१ को पानी उपयोग गर्दै मिस्ट्रीखोला–२ आयोजना निर्माणको प्रक्रिया अघि बढाइएको छ। १२ मेगावाटको मिस्ट्रीखोला–२ जलविद्युत् आयोजना निर्माण हुने भएको हो।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला–१ जलविद्युत् बनाएको माउन्टेन इनर्जी नेपाल लिमिटेडले विद्युतगृहबाट निस्कने पानीबाट क्यासकेड आयोजना बनाउने तयारी गरेको हो।
सर्वेक्षण सकिएको आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने क्रममा रहेको परामर्शदाता संस्था इन्भाइरोमेन्टल पार्टनर्स प्रालिका शंकर बस्यालले बताए।
मिस्ट्रीखोलाको विद्युतगृहदेखि पाउद्वार तातोपानी कुण्डभन्दा तलसम्म एक किलोमिटर हेडरेस कल्भर्ट र त्यहाँबाट दुई किलोमिटर ८८.२९ मिटर लामो सुरुङबाट ल्याएको पानी ७३.३७ मिटर उचाइको आउटलेटबाट विद्युतगृहमा खसालिने छ। पहाडभित्र भूमिगत विद्युतगृह बनाइने आयोजनाबाट वार्षिक ६६.४३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान छ। २ अर्ब १४ करोड ८३ लाख लागत अनुमान गरिएको आयोजना निर्माण अवधि तीन वर्षको हुनेछ। लागतका हिसाबले यो आयोजना सस्तो हुने माउन्टेन इनर्जीका प्रतिनिधि राजेन्द्र शर्माले बताए।
तातोपानी कुण्डलाई असर नहोस् भनेर सुरुङको विकल्प खोजिएको उनको भनाइ छ। कालीगण्डकी किनार नजिकैबाट घट्टखोलाको पानी पनि मिस्ट्रीखोला–२ को सुरुङमा मिसाइने भएकाले नारच्याङको सिँचाइ तथा खानेपानीमा असर नपुग्ने उनले बताए। अन्नपूर्ण गाउँपालिका–४, ५, ३ र २ नम्बर वडा आयोजनाबाट प्रभावित हुनेछन्।