काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेला २०७८ सोमबार भएको छ। काठमाडौंको स्काई दरबार बैंक्वेट, सिंहदरबारमा सोमबार महासंघको राष्ट्रिय भेला आयोजना गरिएको हो।
भेलामा निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि, खरिद नियमावलीको ११ औँ संशोधनका केही बुँदा, बीमा सम्बन्धी जारी गरिएको निर्देशीका लगातका प्रावधान संशोधन तथा खारेज गर्नका लागि र अन्य निर्माण क्षेत्रका समस्याहरु समाधानका लागि पनि सुझाव संकलन गरिएको थियो। राष्ट्रिय भेलामा सहभागी हुनका लागि देशभरबाट निर्माण व्यवसायी प्रतिनिधिहरु आएका थिए।

निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिका कारण निर्माण कार्यमा समस्या भएको भन्दै निर्माण व्यवसायीहरुले मूल्य समायोजनको माग गरिरहेका छन्। त्यसैगरी सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनले पनि साना व्यवसायीलाई मारमा पार्ने गरि संशोधन भएको भन्दै निर्माण व्यवसायीहरुले केही बुँदा संशोधनको माग गरिरहेका छन्।
यसअघि देशका ७७ वटै जिल्ला र प्रदेशबाट मूल्यवृद्धिको विरोध गर्दै खरिद नियमावली संशोधनको पनि माग गरिरहेका छन्। खरिद नियमावलीको आपत्तिजनक बुँदामा संशोधन नभए राष्ट्रिय भेलापछि आएका सुझाव अनुसार संघर्षका कार्यक्रम अघि बढाउने महासंघ लगायतका संघहरुले पनि चेतावनी दिँदै आएका थिए।