काठमाडौं। भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान वितरण गरिएको छ। नगरपालिकाले आज नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई मोहडामा प्रयोग भएको काठ, इँटा र झिङ्गटीको अनुदान वितरण गरेको हो।
नगरपालिकाका अनुसार २६ जनालाई कूल रु ७९ लाख ८३ हजार अनुदान वितरण गरिएको बताइएको छ। नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड, २०६०, तेस्रो संशोधनअनुसार भक्तपुर नगरको विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर तथा भवन निर्माण गर्न नगरवासीको प्रोत्साहनस्वरुप घर तथा भवन निर्माण गर्ने क्रममा मोहडातर्फ प्रयोग हुने काठ, इँटा र झिङ्गटी खरिदका लागि भक्तपुर नगरपालिकाले दिने अनुदानसम्बन्धी कार्यविधि २०७५ अनुसार आव २०७५/७६ देखि मापदण्ड अनुरुप घर निर्माण गर्ने नगरवासीहरुलाई लागेको खर्चमा ३५ प्रतिशत अनुदान वितरण गर्दै आएको नगरपालिकाले जनाएको छ।
नगरभित्र पराम्परागत शैलीमा घर निर्माण गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आधुनिक शैलीका घर निर्माणले देश परनिर्भरतातर्फ उन्मुख हुँदै गएको बताइएको छ। पुराना घरको संरचनामा प्राविधिक र वैज्ञानिक आधार रहेको उल्लेख गर्दै उहाँले परम्परागत, स्थानीय सामग्री तथा सीपको प्रयोग गरी पुरानै शैली र संरचनामा घर निर्माण गर्नेलाई नगरपालिकाले प्रोत्साहित गर्ने नगरपालिकाले जनाएको छ।