काठमाडौं। अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ।
विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो हप्तासम्म दैनिक एक–डेढ घण्टा लोडसेडिङ हुँदै आएकोमा शनिबार देखि यता औद्योगिक क्षेत्रका उद्योगहरूले १४ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य भएका छन्।
प्राधिकरणले शनिबार साँझ ७ बजेदेखि आठ घण्टा, आइतबार साँझ ६ बजेदेखि १२ घण्टा र सोमबार दिउँसो ४ बजेदेखि १४ घण्टासम्म लोडसेडिङ गरेको छ। हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले मङ्गलबार साँझ ६ बजेदेखि १२ घण्टाका लागि लोडसेडिङ हुने जनाएको छ।