काठमाडौं। नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ र उद्योग संगठनले पत्रकार सम्मेलन गरी विद्युत कटौती गर्न नमिल्ने बताएका छन्। नियमित विद्युत आपूर्ति नभए व्यवसायीहरुले उद्योग नै बन्द गर्ने चेतावनी समेत दिएका छन्।
उद्योगी–व्यवसायीहरुले एक सातायता विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पर्याप्त विजुली दिन नसक्दा समस्या परेको बताएका हुन् ।
भारतबाट विजुली खरिद गर्न नपाएको कारण देखाएर नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म विद्युत कटौती गरेको उनीहरुको भनाइ छ । गत मंगलबार यता अघोषित रुपमा लोडसेडिङ हुँदा आफूहरु समस्यामा परेको उद्योग व्यवसायीको भनाई छ । उनीहरुले नियमित रुपमा विद्युत दिन नसके लोडसेडिङ तालिका दिन विद्युत प्राधिकरणलाई आग्रह समेत गरेका छन् ।
अनियमित रुपमा विद्युत कटौती हुँदा उद्योगका मजदुर कामविहीन हुनुपर्ने अवस्था आएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । विद्युत नियमित नभए उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने उनको भनाई छ । उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउनु सरकारको दायित्वको भएको उनले बताए।
उद्योगी–व्यवसायीहरुका अनुसार गत मंगलबार ४ घण्टा विजुली कटौती भएको थियो । तर त्यसपछि विजुली कटौती बढ्दै गएपछि समस्या बढेको व्यवसायीको भनाई छ ।