काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको प्रशंसा गरेका छन्।
चितवनको राप्ती नगरपालिकामा निर्मित हर्दी सबस्टेसनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले इमान्दारिताका साथ काम गर्नाले विकास सम्भव भएको भन्दै प्रमुख घिसिङको कामको प्रशंसा गरेका हुन्।
उनले घिसिङलाई चितवनमा आगामी ४० वर्षसम्म धान्ने विद्युतीय पूर्वाधार निर्माण गरिदिन समेत आग्रह गरेका छन्। प्रचण्डले चितवनमा निर्माण भएको १३२ केभी सबस्टेशनले केही वर्ष मात्रै धान्ने भएकाले त्यस नजिकै फेरि अर्को सबस्टेशन बनाउनुपर्नेमा जोड दिएका छन्।
उनले अहिले नेपाल लोडसेडिङमुक्त मात्रै नभएर अब विद्युत निर्यात गर्ने ठाउँसम्म पुगेको समेत दाबी गरेका छन्। प्रचण्डले इमान्दारिताका साथ काम गरे देश विकास हुन समय नलाग्ने बताए।