काठमाडौं। सरकारले कर्णाली प्रदेशमा स्थापना हुन लागेको पहिलो सिमेन्ट उद्योग सूर्यतारा सिमेन्ट उद्योगलाई १४ अर्ब लगानी गर्न स्वीकृति दिएको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको ५०औँ बैठकले योसहित रासायनिक मल कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न एक जर्मनी कम्पनीलाई अनुमति दिने निर्णय पनि गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले सूर्यतारा सिमेन्ट परियोजनाको निर्माण, सञ्चालन एवं व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख रुपियाँ बराबरको लगानी गर्न स्वीकृति दिएको बोर्डको कार्यालयले जनाएको छ। सोही बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि जर्मनी कम्पनी डीआईएजी इन्डस्ट्रिज जीएमबीएचलाई अनुमतिपत्र दिनेसमेत निर्णय गरेको छ।
बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास तथा लगानीको ढाँचा र अरुण ३ जलविद्युत् परियोजनाबाट प्राप्त हुने निःशुल्क ऊर्जा बिक्री तथा सोबाहेकको अतिरिक्त ऊर्जा खरिद गर्ने विषयमा विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगले जनाएको छ।