काठमाडौं। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा समाजसेवा युवा क्लबको खेलमैदान निर्माण सुरु भएको छ। गण्डकी प्रदेशको युवा तथा खेलकूद मन्त्रालयबाट विनियोजन भएको रु २० लाख बजेटबाट खेलमैदान निर्माण सुरु गरिएको हो।
गाउँपालिकाको केन्द्रमा व्यवस्थित खेलमैदान नभएको अवस्थामा मन्त्रालयबाट बजेट प्राप्त भएपछि खेलमैदान निर्माणकार्य सुरु गरिएको क्लबले जनाएको छ।
खेलमैदानको लागि उपयुक्त जग्गा व्यवस्थापनमा कठिनाइ भएपछि गाउँहुँदै वर्षात्मा पानी बग्ने द्ववारेखोलालाई जमिनमुनिबाट बगाएर मैदान बनाउने काम सुरु गरिएको छ। खोलाको दायाँबायाँका जग्गाधनीले करिब रु ५० लाख बढी मूल्यपर्ने जग्गा निःशुल्क उपलब्ध गराएपछि खोलालाई जमिनमुनिबाट बग्ने प्रबन्ध मिलाएर खेलमैदान बनाउन सुरु गरिएको बताइएको छ।
पहिलो चरणमा मन्त्रालयबाट प्राप्त बजेटबाट खेलमैदानको लागि जग्गा सम्माउने काम सुरु गरिएको छ। लगत्तै खोला हुँदै बग्ने पानीलाई पक्की नाली बनाएर मैदानको मुनिहुँदै बग्ने पूर्वाधार निर्माण सुरु गरिने क्लबले जनाएको छ।
३० मिटर लाम्बाइ र २३ मिटर चौडाइको खेलमैदानमा प्याराफिटसमेत निर्माण गरिने क्लबले जनाएको छ। खेलमैदान निर्माणका लागि द्ववारेखोलाको दायाँबायाँका जग्गाधनी यामकुमारी गर्बुजा, सरस्वती पौडेल, नवराज सुवेदी, मेषबहादुर खत्री, गोविन्दबहादुर खत्री, कृष्णलाल शर्मा र मधु सुवेदी लगायतले जग्गा उपलब्ध गराएको क्लबले जनाएको छ।