काठमाण्डौं। ग्रामीण किसानलाई लक्षित गरी शिवसताक्षी नगरपालिका–६ मा ‘रिटेल मार्केट’ निर्माण सुरु गरिएको छ। पालिकाले एक करोड चार लाख ६१ हजार लागतमा निर्माण सुरु गरेको हो।
उक्त मार्केटको ५० प्रतिशत काम पूरा भइसकेको नगरपालिकाले जनाएको छ। विसं २०७८ माघमा सो रकममा निर्माण कार्य विसं २०७९ असारमा सम्पन्न गर्ने गरी भीमेश्वर कन्स्ट्रक्शन प्रालिले ठेक्का पाएको छ।
करिब एक बिघा नौ कट्ठा जमिनमा निर्माण भइरहेको मार्केटमा ५० कक्ष रहने बताइएको छ। पालिकाको दक्षिण क्षेत्रमा रहेका वडामा कृषिजन्य वस्तुको उत्पादन धेरै हुने र बजारीकरणमा समस्या भइरहेका कारण मार्केटको अवधारणा ल्याइएको हो।
रिटेल मार्केटभित्रै ३६ लाखको लागतमा ‘अक्सन सेन्टर’ समेत निर्माण भइरहेको छ। जिल्लाका अन्य क्षेत्रमा समेत उत्पादन भएका कृषि उपज सामाग्रीलाई लिएर बिक्री वितरण गर्ने उद्देश्यले अक्सन सेन्टर निर्माण गर्न थालिएको नगरपालिकाले जनाएको छ।
अक्सन सेन्टर निर्माणपछि स्थानीयस्तरमै कृषिजन्य सामग्रीको प्रवद्र्धन गर्न सकिने आशा गरिएको छ। पालिकाभित्रका बजार पाराबारी, मङ्गलबार लगायतका क्षेत्रमा कृषि बजार निर्माण गरेको छ भने यसै आर्थिक वर्षभित्रमा धौलेचोक बजार र शिवगञ्ज बजारमा समेत कृषि बजार बनाउनका लागि डिपिआर तयार गरिसकेको छ।