काठमाडौं। मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिबाङ रुन्चेबुङमा पहिलो पटक बिजुली बत्ती पुगेको छ। अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबाङमा मुख्य लाइन अझै जडान हुन नसक्दा पेल्ट्रिक सेटमार्फत बिजुली पुर्याइएको हो।
बिजुलीको अभावका कारण त्यहाँका चेपाङहरू सल्लाको दियालो बालेर घरलाई उज्यालो पार्ने गर्थे। तर, आईतबार गाउँमा बत्ती बाल्न पेन्ट्रिक सेट उद्घाटन भएसँगै त्यहाँका चेपाङको घरको अँध्यारो हटेको छ। सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जाल र गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा बनेको पेन्ट्रिक सेटमार्फत उक्त स्थानमा सञ्चालनमा आएको छ। ४ किलोवाट क्षमताको पेन्ट्रिक सेट (हाइड्रोपावर) सञ्चालनमा आएसँगै स्थानीय चेपाङ हर्षित भएका छन्।
गाउँमा अहिलेसम्म विद्युत प्राधिकरणमार्फत बिजुली बत्ती पुगेको छैन। गाउँपालिकाको केहि स्थानमा यस्तै पेन्ट्रिक सेट सञ्चालन गरेर बत्ती बालिएको छ भने कतिपय स्थानका चेपाङ समुदाय अझैपनि अँध्यारोमा नै बस्न बाध्य छन्। गाउँपालिका भरिमा करिव २० वटा पेन्ट्रिक सेट सञ्चालन भइरहेको बताइएको छ।
कुल २३ लाखमा जडान भई सञ्चालनमा आएको पेन्ट्रिक सेटको लागि सामुदायिक सशक्तीकरण तथा सामाजिक न्याय सञ्जालले १३ लाख सहयोग गरेको थियो भने गाउँपालिकाले ६ लाख रुपैयाँ खर्चिएको छ। बाँकी ४ लाख रुपैयाँ बराबरको स्थानीय बासिन्दाले श्रमदान गरेका छन्। २०७७ सालको पुसबाट सुरु भएको निर्माण कार्य १६ महिनामा सम्पन्न भएर सञ्चालनमा आएको बताइएको छ।