काठमाडौं। बेमौसमी वर्षापछि सिन्धुलीमा आएको बाढीले निर्माणको अन्तिम चरणमा पुगेको पक्की पुल भत्काएको छ। आइतबार राति ग्वाङखोलामा आएको बाढीले कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नं ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल भत्काएको हो।
उक्त पुल झण्डै साढे चार करोड लागतमा निर्माण भइरहेको थियो। ढलानको तयारीमा रहेको पुलका सबै संरचना भत्काएको निर्माण कम्पनीले जनाएको छ। खोलामा पानी निकासका लागि राखिएको सानो ह्यूम पाइप पर्याप्त नहुँदा बाढीले पुलका संरचना भत्काएको हो।
पुल भत्कँदा करिब तीन करोडको क्षति भएको आंकलन निर्माण कम्पनी देवीरमण जेभीले गरेको छ। “आइतबार दिनभर मौसम सामान्य नै थियो,” निर्माण कम्पनीका अनुसार, “वर्षा लागकै थिएन, चैत महिनामा नै यति ठूलो बाढी आउला भनेर आकलन नगर्दा ठूलो क्षति भयो।” तीन दिनपछि पुल ढलानका लागि सबै तयारी पूरा हुन लागेको निर्माण कम्पनीले जनाएको छ।
बागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको पुलको लागत चार करोड ४१ लाख रहेको छ। योसँगै केही महिनापछि नै पुलबाट वारपार गर्ने कारागार क्षेत्रका बासिन्दाको सपना सपनामै सिमित भएको छ। खोलाको निकासका लागि पर्याप्त ठाउँ नराख्दा ठूलो क्षति भएको स्थानीयले जनाएका छन्।
अब चाहिँ पुल बन्ला र खोला बाढीमा हेलिनु नपर्ला भनेको फेरि अब कति वर्षलाई उहि समस्या हुने हो स्थानीयले गुनासो गरेका छन्। पुलले ह्यूम पाइप राखेर निकास नहुँदा स्थानीयको घरमासमेत बाढी पसेको थियो।