फाइल तस्बिर
काठमाडौं। दोलखाको मार्बु–चंखु सडक अन्तर्गत घट्टेखोलामा पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीसँगको ठेक्का तोडिएको छ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं मातहतको सडक डिभिजन चरिकोटले समयमा काम पूरा नगरेको भन्दै सर्वोद्धार फ्रेण्डस श्रेष्ठ जेभीसँग ठेक्का तोडेको हो।
सडक डिभिजनले मंगलबार जारी गरेको सूचनामा पुल निर्माण अधुरो छाडेकाले सार्वजनिक खरिद नियमावली,२०६४ (एघारौं संशोधन समेत) को नियम १२० को उपनियम (११) बमोजिम सम्झौता तोडिएको उल्लेख छ।
पुल निर्माण गर्नका लागि डिभिजन कार्यालय र निर्माण व्यवसायीबीच २०६८ असार २९ गते सम्झौता भएको थियो। सम्झौताअनुसार काम नसकेको भन्दै डिभिजनले ठेक्का तोड्ने निर्णय गरेको हो।
ठेक्का तोडिएका कारण सार्वजनिक खरिद ऐन,२०६३ र नियमावली, २०६४ अनुसार निर्माण व्यवसायीले तिर्नुपर्ने बुझाउनुपर्ने सरकारी बाँकी रकम प्रचलित कानुन बमोजिम म्यादभित्र दाखिला गर्ने उल्लेख गरिएको छ। म्यादभित्र रकम दाखिला नभएमा प्रचलित कानुन बमोजिम सरकारी बाँकी सरह असुल भइजाने उल्लेख छ।