काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको हो।
इन्धनसँगै निगमले खाना पकाउने ग्यासको मूल्यमा समेत वृद्धि गरेको छ। योसँगै पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।
त्यसैगरी यसअघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।
निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको थियो । अब सञ्चालक समितिले निर्णय गरेर एकमहिनाभित्रै स्वचालित बनाउने बताइएको छ । यसो गरे इन्धनको मूल्य थप बढ्ने छ ।
निगमका अनुसार अहिले पेट्रोलको मूल्य प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा लागत रहेको छ भने मट्टितेलको १३६ रुपैयाँ ३१ पैसा र डिजेलको १७१ रुपैयाँ लागत रहेको छ ।
अर्थात स्वचालित भएमा पेट्रोलको मूल्य प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा पुग्नेछ । उता खाना पकाउने ग्यासको मूल्य भने स्वचालित भएमा २५ सय ३२ रुपैयाँसम्म पुग्न सक्नेछ ।